महोत्तरी / रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् ।
महोत्तरीका भारतीय सीमा नाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरूको सङ्ख्या अधिक पाइएको छ ।
दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लो घर पल्लोघर गएआए जस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ ।
जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्ती पिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।
जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।
“ऊ त्यो हेर्नोस् भारतको सीतामढी जिल्लामा पर्ने गोरहारी गाउँ हो, माझमा दशगजा छ, पारि उनीहरू (भारतीय) छन्, वारि हामी (नेपाली) छौँ”, ठ्याक्कै सीमासँग जोडिएको मनराशिवा नगरपालिकाको इटहर्वाकट्टी बस्तीका ललनकुमार सिन्हा भन्छन्, “सराबरी आउने जाने क्रम छ, यस क्रममा मिसिएर कस्ताकस्ता मान्छे आउँछन् हाम्रो प्रशासनले लेखा राख्न सके जस्तो लाग्दैन ।”
सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउँछन् ।






































