काठमाडौं - मेटा कम्पनीका सीईओ मार्क जकरबर्गले मानिसकै जस्तो बौद्धिक स्तर भएको कृत्रिम बौद्धिकता (एआई) निर्माणका लागि सुपरइन्टेलिजेन्स प्रयोगशाला बनाउने भएका छन् ।
ब्लूमबर्ग सञ्चारमाध्यमका अनुसार, जकरबर्गले एआईमा अनुसन्धान गरिरहेका इन्जिनियरहरूमध्ये विश्वसनीय व्यक्तिलाई व्यक्तिगत रूपमा आफ्नो प्रयोगशालामा राख्नका लागि सम्पर्क गरिरहेका छन् ।
उनले प्रयोगशालाका लागि कुल ५० जनालाई नियुक्त गर्न चाहेका छन् । त्यसमा एआई अनुसन्धानका प्रमुख पनि पर्दछन् ।
मेनलो पार्कमा रहेको मेटाको केन्द्रीय कार्यालयमा उनले डेस्कहरू व्यवस्थापन गर्न लगाएका छन् । नयाँ प्रयोगशालाका इन्जिनियरहरूलाई उनले आफ्नो कार्यकक्ष नजिक राख्न खोजेका छन् ।
मानिसकै स्तरको बौद्धिक क्षमता भएको एजीआई बनाउनका लागि विभिन्न प्रविधि कम्पनीहरूले प्रयास गर्दै आएका छन् । विभिन्न कार्यलाई मानिसले नै जस्तो गरी सम्पन्न गर्न सक्ने मशिन बनाउनका लागि मेटाले अरू कम्पनीहरूलाई उछिन्न खोजेको छ ।
मेटाले सार्वजनिक गरेको लार्ज ल्यांग्वेज मोडल लामा ४ बाट जकरबर्गको अपेक्षा पूरा नभएकाले नयाँ प्रयोगशाला बनाउन खोजिएको बताइएको छ । उनले सन् २०२५ भित्र नै उच्चस्तरीय एआई उत्पादन बनाइसक्नुपर्ने लक्ष्य आफ्ना कर्मचारीहरूका लागि निर्धारण गरेका छन् । लक्ष्य हासिल गर्नका लागि कार्यालय समयभन्दा बढी बस्न उनले इन्जिनियरहरूलाई आग्रह गरेका छन् ।
मेटाले अहिलेसम्मकै शक्तिशाली मोडल बेहेमोथ सार्वजनिक गर्न खोजेको थियो । तर यसले अघिल्ला संस्करणहरूभन्दा उल्लेख्य प्रगति गर्न नसकेको निष्कर्ष मेटा नेतृत्वले निकालेपछि त्यसलाई अहिले थाती राखिएको छ । उक्त मोडलले ओपनएआईको च्याटजीपीटी, एन्थ्रोपिक र गूगलको जेमिनीलाई पछि पार्ने आकलन गरिएको थियो ।
नयाँ प्रयोगशालासँगै मेटाले स्केल एआई नामक डेटा पूर्वाधार कम्पनीमा लगानी गर्ने योजना पनि सार्वजनिक गरेको छ । त्यसले एआई मोडलहरूलाई प्रशिक्षण गर्नेछ र त्यसमा अर्बौं डलरको लगानी हुनेछ । सबै सम्झौता पूरा भएपछि स्केल एआईका सीईओ अलेक्जेन्डर वाङ मेटाको टीममा जोडिनेछन् । सम्झौता पूरा भएमा त्यो मेटाको अहिलेसम्मको सबैभन्दा ठूलो लगानी हुनेछ ।
जकरबर्गले भविष्यका एआई मोडलहरूका लागि आवश्यक नयाँ विशाल डेटा सेन्टर खडा गर्ने योजना पनि बनाएका छन् ।
सन् २०२५ को आरम्भमा जकरबर्गले यही वर्ष थप हजारौं जागिरहरू खोसिने भन्दै कर्मचारीहरूलाई मेमो पठाएका छन् । कर्मचारीले गरेको प्रदर्शनका आधारमा जागिरमा रहने नरहने कुरा निश्चित हुने उनको भनाइ छ । अब एआईलाई आफ्नो भविष्यको रणनीतिको केन्द्रमा राखेर मेटाले सुपरइन्टेलिजेन्स प्रयोगशालामार्फत कर्मचारी छँटनीपछिको खाका कोरेको छ ।