काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ। यस वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरिसकेको विभागको भनाइ छ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि वर्षा सक्रियता बढ्ने संकेत देखिएको छ। “अबको केही दिन हल्कादेखि भारी वर्षासम्मको सम्भावना सबै प्रदेशमा देखिएको छ,” उनले भनिन्।
हाल मनसुनी वायु मुख्यतया पूर्वी क्षेत्रमा सीमित रहेकाले एक साताभित्र देशभर फैलिने बताइएको छ।
यस वर्ष औसतभन्दा बढी वर्षा हुन सक्ने संकेत देखिएको उल्लेख गर्दै कँडेलले अधिकतम र न्यूनतम तापक्रम पनि सामान्यभन्दा उच्च रहने सम्भावना रहेको जानकारी दिइन्।
साथै, मौसमसम्बन्धी जानकारी समयमै लिई जल तथा मौसमजन्य प्रकोपबाट हुने जोखिम न्यूनीकरणमा जनसाधारणले सक्रिय भूमिका खेल्नुपर्ने उनको सुझाव छ।