काठमाडौं। भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार दिउँसो एक गम्भीर विमान दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान टेकअफको केहीबेरमै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि रहेका छन्। प्रारम्भिक जानकारी अनुसार विमान सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको बाउन्ड्रीमा अवस्थित संरचनामा ठोक्किएर दुर्घटनामा परेको आशंका गरिएको छ।

दुर्घटनापछि विमानस्थल क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको तस्बिरहरू सार्वजनिक भएका छन्। उद्धार कार्यका लागि सुरक्षाकर्मी र आपतकालीन टोली खटिएको छ भने क्षतिको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

भारतीय समाचार संस्था एएनआई र टेलिभिजन च्यानल एबीपीले दुर्घटनाको पुष्टि गर्दै उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको जनाएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।