काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर भोगिरहेको बताउँदै सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विश्व समुदायलाई एउटै मञ्चमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना’ अन्तर्गतको एक राष्ट्रिय कार्यशालामा बोल्दै उनले भनिन्, “नेपाल हिमाली देश भएकाले यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यन्तै गम्भीर छ। सगरमाथा संवादले नीति निर्मातादेखि पत्रकार र विविध समुदायहरूलाई जलवायु सम्बन्धी छलफलका लागि एकै स्थानमा ल्याउने प्रयास गर्छ।”
उनले हिमालहरूलाई सगरमाथा संवादमा प्राथमिकताका रूपमा राखिने पनि स्पष्ट पारिन्।
परराष्ट्रमन्त्री राणाले जलवायु परिवर्तनसँग जुध्न नेपाललाई बलियो पूर्वाधारको आवश्यकता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य आवश्यक रहेको बताइन्। “हामी प्राकृतिक वातावरणको स्थायित्व, आर्थिक समृद्धि र जनजीविकामा सुधार ल्याउने दिशामा अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा राख्छौं,” उनले भनिन्।
उनले नेपालमा तापक्रम वृद्धि, हिमनदी पग्लनु, डढेलो, खडेरी र बाढीबाट हुने विनाशका घटनाहरू बढिरहेको उल्लेख गर्दै यस्ता जलवायुजन्य प्रकोपहरूबाट ठूलो क्षति भइरहेको बताइन्। “ग्लोबल वार्मिङका असरहरूसँग जुध्न हामीसँग आवश्यक स्रोत र क्षमता पर्याप्त छैनन्,” मन्त्री राणाले भनिन्, “त्यसैले आजको कार्यशालाजस्ता प्लेटफर्महरू हाम्रो लागि निकै महत्वपूर्ण छन्।”
उनका अनुसार, नेपाल हाल प्राकृतिक प्रकोप न्यूनीकरण, नीति निर्माण, व्यवस्थापन र प्रविधि विकासमा गम्भीरतापूर्वक काम गरिरहेको छ।