काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबुझिने सम्पत्ति फेला परेको आयोगले जनाएको छ।
श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत रहँदै आएका थिए । श्रेष्ठले आफ्नो वार्षिक सम्पत्ति विवरणमा सम्पूर्ण सम्पत्ति नखुलेको, झूटो विवरण पेश गरेको र लुकाएको प्रमाण फेला परेपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफा अनुसार कारबाहीका लागि मुद्दा दायर गरेको जनाएको छ ।






































