धनगढी — कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट २ किलो ७१४ ग्राम लागुऔषध (अफिम)सहित तीन जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले श्री पञ्चकोकी होटल एण्ड रेष्टुरेन्टमा विशेष अपरेसन चलाउँदै उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हुम्ला सुर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, त्यही स्थानकी २७ वर्षीया सालु शाही र रोल्पा सुनछहरी गाउँपालिका–७ कै ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।