काठमाडौं— सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर रहेकी छन् ।
उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् । असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।
आरोपी मगरले ‘प्रहरी हुँ’ भनेर प्रहरी सहायक निरीक्षक (असई)को तस्बिर देखाएर समेत ठग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराले जानकारी दिए ।
उनको मोबाइलमा असईको युनिफर्म लगाएको फोटो भेटिएको एसपी बोहराको भनाइ छ । उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर ठगी मुद्दामा अनुसन्धान थालिएको एसपी बोहराले जानकारी दिए ।