मकवानपुर— पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चार्जिङ प्वाइन्ट नजिकै कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला लिएर आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्रक चालक भारतको गाजीपुर जिल्ला, पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।

उनका अनुसार ट्रकभित्र च्यापिएर अचेत भएका यादवलाई प्रहरीले उद्धार गरी तत्कालै हेटौँडा अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा सहचालक २६ वर्षीय मनोज यादव पनि घाइते भएका छन्। घाइते यादवको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।