बाँके— भारतबाट आयात गरिएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना व्यक्ति बिरामी परेका छन्। खजुरा ४ एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भएका उनीहरु बिरामी भएका हुन् । 

उक्त कार्यक्रममा खाएको मासुका कारण उनीहरू बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ। वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीका अनुसार बिरामी परेका मध्ये धेरैजसोले कुखुराको मासु, पुलाउ, र राजमा खाएका थिए। 

बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कुखुराको मासु खानेहरू मात्र बिरामी परेका छन् । खानामा (पुलाउ, तरकारी, अचार) खानेहरू सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ।

खजुरा ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीका अनुसार एकै परिवारका ७ जनासहित १३ जना बिरामी परेका छन्। 'उनीहरूमा झाडापखाला, उल्टी, ज्वरो, रिँगटा लाग्ने लक्षण देखिएको छ,' उनले जानकारी दिए।

उक्त कार्यक्रमबाट फर्केर घर ल्याइएको खाना खाँदा थप ७ जना बिरामी परेका छन्। त्यसमध्ये केही सामान्य बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

बिरामीहरूको अहिले बाँके सिटी अस्पताल, खजुरामा उपचार भइरहेको छ। घटनाको जानकारी पाएलगत्तै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक स्वयं अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। साथै उनले घटनाबारे आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छन्।

घटनास्थलमा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्णकुमारी पोखरेल, वडा सदस्य रितु गिरी, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओली लगायतको टोलीले पनि अस्पताल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिएको छ।

बिरामी हुनेहरूमा रामबहादुर बिष्ट, मिना बुढा कुमारी मगर, रियान बिष्ट, आयुषा बिष्ट, हिमराज बिष्ट, मनोज बिष्ट, सीता बुधाछेत्री, लीलावती बिष्ट, खुसी बिष्ट लगायत रहेका छन्।

स्वास्थ्यकर्मीहरूको प्रारम्भिक अनुमान अनुसार मासुमा संक्रमण वा विषाक्तता हुनसक्ने सम्भावना रहेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।