काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डिपी अर्यालविरुद्ध भिजिट भिसा सम्बन्धी प्रकरणको छानबिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ। उजुरी युवा समाजसेवी युवराज पौडेल (सफल)ले सोमबार दर्ता गराएका हुन्।
पौडेलले विदेश गएका व्यक्तिहरू भिजिट भिसाको अवधि सकिएपछि फर्किएका छन् वा छैनन् भन्नेबारे छानबिन गरी, सम्बन्धित व्यक्ति दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
सांसद अर्याल सुमिरे टुर्स एन्ड ट्राभल्सका सञ्चालकसमेत हुन्। यही विषयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि शनिबारको प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका थिए।
प्रतिक्रिया स्वरूप आइतबार सांसद अर्यालले आफू सुमिरे ट्राभल्सको सञ्चालक भएको पुष्टि गर्दै भनेका थिए कि, “हामीले भिजिट भिसामा मानिस पठाएका हौं, तर उनीहरू सबै फर्किएका छन्।”