काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली युवाहरूले ‘देशमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास विकास गर्नु आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले युवाहरूलाई देशको प्रमुख शक्ति स्रोतको रूपमा उल्लेख गर्दै उनीहरूले स्वदेशमै उद्यम गर्नुपर्नेमा जोड दिए।
उनले बाध्यतापूर्ण वैदेशिक रोजगारलाई आगामी १० वर्षभित्र अन्त्य गर्ने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम अघि सारिएको जानकारी गराए।
“वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यात्मक हैन,” मन्त्री भण्डारीले भने, “जो जान चाहन्छन्, तिनीहरूलाई रोक्न सकिन्न। तर, रोजगारी नपाएर बाध्य भएर विदेश जानुपर्ने अवस्था अन्त्य गर्न श्रम मन्त्रालय नीतिगत र संरचनात्मक रूपमा काम गरिरहेको छ।”
उनका अनुसार रोजगारी सिर्जना मुख्यतः निजी क्षेत्रको दायित्व हो। सरकारले नीति तथा नियममार्फत सहजीकरण गर्ने तर प्रत्यक्ष रूपमा सीमित मात्रामा मात्र रोजगारी दिन सक्छ। त्यसैले सरकार निजी क्षेत्रसँग समन्वय गर्दै रोजगारीका नयाँ अवसरहरू निर्माण गर्न प्रतिबद्ध रहेको उनले बताए।
मन्त्री भण्डारीले स्वदेशमै रहेका रोजगारीका सम्भावनाहरूको सदुपयोग हुन नसकेको अवस्थालाई चिन्ताजनक भने। “थोरै पैसाका लागि विदेश जानु भन्दा आफ्नै देशमा स्वरोजगारमा लाग्न युवाहरूले प्राथमिकता दिनुपर्छ,” उनले सुझाव दिए।
त्यसैगरी, वैदेशिक रोजगारमा गएका नेपालीहरू फर्किएर आफ्नो सीप, ज्ञान र केही पुँजी लिएर स्वदेशमै काम गर्न थालेको उल्लेख गर्दै उनले सकारात्मक पक्षलाई पनि औँल्याए।
उनले हरेक वर्ष झन्डै पाँच लाख नयाँ श्रमिक नेपाली श्रम बजारमा प्रवेश गर्ने जानकारी दिँदै, यदि ती श्रमिकहरूलाई आवश्यक सीप र दक्षतामा प्रशिक्षित गर्न सकिए, भने देशमै रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे।