काठमाण्डौ । विमान थपेसँगै बुद्ध एयरले बजार विस्तार पनि आक्रामक रुपमा गरीरहेको छ । कम्पनीले काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट बिहानको उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको विमानपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज हुनेछन् ।
कोभिड–१९ का कारण सिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बुद्ध एयरले आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यसअनुसार बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको कम्पनीद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने मार्कटिङ सेल्स निर्देशक रुपेश जोशीले बताएका छन् ।
बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यीबाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ ।




































