चितवन । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कैद मिनाहा गरेको सुचिमा कारागार भित्रै भएको हत्यामा संलग्न नेकपाको ओली समुहका कार्यकर्ता समेत रहेको भेटिएको छ ।

कैद मिनाहाको सुचिमा कारागार भित्रै भएको जघन्य अपराधमा संलग्न समेत रहेको पाईएपछि चितवनमा राष्ट्रपतिको सो कदमको आलोचना सुरु भएको छ ।  प्रजातन्त्र दिवशका अवसरमा बाँकी कैद मिनाहा पाएका ५ सय ९५ जना कैदीबन्दीको सुचिमा कारागार भित्रै भएको हत्याको घटनामा संलग्न रहेका नेकपाको ओली पक्षका कार्यकर्ता समेत रहेको पाईएपछि जिल्लामा सो कदमको बिरोध सुरु भएको हो ।

कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ । 

तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेलको २०६८ पुसमा जिल्ला कारागार भित्रै भएको हत्यामा संलग्न रहेका तत्कालीन एमालेका कार्यकर्ता फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसी संलग्न रहेका थिए । हत्याको सो घटनामा संलग्न रहेको अभियोगमा उनीहरुलाई अदालतले थप २० वर्ष सजाय सुनाएको थियो । उनी पौडेलकै भाईको हत्या अभियोगमा कारागार पुगेका थिए । 

जिल्ला कारागारका प्रमुख कमल काफ्लेले जेलभित्रको चालचलन राम्रो पाईएकाले बाँकी कैद मिनाहाको सिफारीस गरीएको र सोहि सिफारीसका आधारमा उनीहरु रिहा हुन लागेको जानकारी गराएका छन् ।

नेपाली कांग्रेस र नेकपाकै प्रचण्ड–नेपाल समुहका स्थानिय नेताले भने हत्या जस्तो जघन्य अपराधका घटनामा दुई – दुई पटक संलग्न देखिएकालाई रिहा गरेकोमा आक्रोस व्यक्त गरेका छन् । उनीहरुले वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरी हत्यामा संलग्नलाई समेत छुटाएकोमा आक्रोस समेत व्यक्त गरेका छन् ।