काठमाडौँ / आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट बार्ता भएको छ । सोमबार दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटबार्ता भएको सर्वोच्च अदालतस्थित स्रोतले जानकारी दिएको छ ।
भेटबार्ताका क्रममा प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि रहेको सेनाको क्याभलरी जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो । क्याभलरीको जग्गा सर्वोच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हो, सर्वोच्च अदालत स्रोतले भन्यो, नामसारीबारे छलफल भइरहेको थियोे ।
प्रधानमन्त्री केपी ओलीले अवहेलना मुद्दाको जवाफ दिन गएका बेला सर्वोच्च अदालतको परिसरको निरिक्षण समेत गरेका थिए । र सर्वोच्चको परिसर साँघुरो भएको भन्दै सेनाको क्याभलरीको जग्गा सर्वोच्चले आफ्नोनाममा नामसारी गर्नका लागि समेत पहल गरेका थिए । तर, सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




































