विराटनगर / जिल्ला अदालत मोरङको हाताभित्रबाट लागुऔषध मुद्दामा पक्राउ परेका दुई अभियुक्त भाग्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले म्याद थपका लागि अदालत लगेका उनीहरु हतकडी सहित भाग्न सफल भएका हुन् । 

 म्याद थपका लागि लगिएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी प्रहरीको आँखा छली हतकडी सहित भाग्न सफल भएका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरु अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित  भागेको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ ।

सोमवार दिउँसो साँढे ३ बजेतिर भाग्न सफल भएका उनीहरु प्रहरीले गरेको खोजीमा फेला नपरेपछि मात्रै यो विषय सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मान बहादुर राईले फरारको खोजी थालिएको जानकारी गराएका छन् । 

भाग्न सफल भएका शेखलाई आइतबार दिउँसो कटहरीबाट ८ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित प्रदेश प्रहरी कार्यालयबाट परिचालित सादा पोषाकका प्रहरीले पक्राउ गरेका थिए । बिर्तामोडका चौधरी भने विराटनगरको बरगाछी चौकबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, र फेनारगनसहितका लागुऔषधसहित आइतबार नै पक्राउ परेका थिए ।

घटनापछि मोरङ प्रहरीले अदालत गएका प्रहरीलाई समेत शंकाको घेरामा राखेर अनुशन्धान अघि बढाएको प्रहरी नायव उपरिक्षक राईले जानकारी गराएका छन् ।