बिर्तामोड/  नेपाली सेनाले देशका ७५३ वटै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार गर्ने भएको छ । 

हाल देशका ७७ जिल्लामा मात्र सैनिक इन्टेलिजेन्स अस्तित्वमा छ । अब त्यसलाई सेनाले स्थानीय तहसम्मै विस्तार गर्न लागेको हो । 

थ्री प्लस वान कमाण्ड अवधारणाअन्तर्गत सेनाले आफ्नो इन्टेलिजेन्स विस्तार गर्न लागेको सेनाले जनाएको छ । आफ्नो इन्टेलिजेन्स सबैतिर हुनुपर्ने आवश्यकता बोध गर्दै सेनाले भन्ने यो संरचना खडा गर्न लागेको हो । 

 के गर्छ इन्टेलिजेन्सले ?

थ्री प्लस वान कमाण्ड अवधारणाअन्तर्गत यो संरचना सञ्चालन हुनेछ । जसलाई सेनाले क्रोप्स अफ इन्टेलिजेन्स नाम दिएको छ । 

यसको मुख्य काम राष्ट्रिय सुरक्षामा आँच पुर्याउने व्यक्ति तथा संस्थाको पहिचान गर्नु हो । देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनतामा आँच पुर्याउनेको निगरानी पनि यसले राख्नेछ । सीमा सुरक्षामा पनि यसलाई परिचालन गर्ने सेनाको योजना छ । 

कसरी व्यवस्थापन हुन्छ जनशक्त ?

इन्टेलिजेन्स खडा गर्न सेनालाई जनशक्ति आवश्यक हुन्छ । त्यसको जोहो सेनाले भित्रैबाट गर्नेछ । सैनिक स्रोतका अनुसार, योग्य र क्षमतावानलाई यसमा अवसर दिइनेछ । 

सेनाले शिक्षक, पत्रकार, जनप्रतिनिधिलगायतसँग समन्वय गर्ने सोच बनाएको छ ।

नेतृत्व कसको ? 

सैनिक इन्टेलिजेन्स नयाँ अवधारणा होइन । ००९ देखि नै यस्तो संरचना सेनामा विद्यमान देखिन्छ । तर यसको नाम भने फरक फरक थियो । सुरुमा सैनिक समाचार विभागका रूपमा अस्तित्वमा रहेको यो निकायको नाम  बीचमा समाचार निर्देशनालय बनाइयो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले यसको नेतृत्व सम्हालेपछि नाम परिवर्तन गरेर सैनिक इन्टेलिजेन्स महानिर्देशनालय बनाए । 

विस्तारित हुन लागेको इन्टेलिजेन्सको अबको नेतृत्व उपरथीले लिने व्यवस्था सेनाले गरेको छ ।