विराटनगर /  मोरङको उर्लाबारीका प्रविन बाँस्तोलाको शंकास्पद मृत्युको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यो सँगै घटनामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका सादा पोषाकका प्रहरीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । बास्तोलाको शंकास्पद रुपमा मृत्यु भएको दिन उनी उर्लाबारी –७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा सुतेका थिए ।

जिल्ला प्रहरी कार्यालयले अनुशन्धानका क्रममा बास्तोलाको मृत्युको घटनामा संलग्नता देखिएकाले अनुशन्धानका क्रममा गिरीलाई आईतबार पक्राउ गरिएको जनाएको छ ।  गत पौष ४ गते राती नशामा गिरीको घरमा साथीहरूसँगै पुगेका प्रविन भोलीपल्ट मृत अवस्थामा घरभन्दा केही पर भेटिएका थिए ।बेवारिसे अवस्थामा भेटिएका प्रविणलाई आफन्त समेत नबोलाई स्थानिय गोदावरी अस्पताल लगिए लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । 

राती गिरीको घरमा पुगेका प्रविण सुदिप परियार, मेहरमान दर्जी , दीलिप पौडेल र ३१ वर्षीय राजेश रणपहेली सँगै रहेका थिए । प्रविण बास्तोलाको शंकास्पद रुपमा भएको मृत्युको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएका दुई मध्ये एक जनालाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको छ । बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । अर्का आरोपी कुमार राईलाई भने अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

प्रहरीले हत्यामा संलग्न रहेको आशंका सहित मुद्दा दायर गरेका ६ जना मध्ये थप ३ जना भने अझै फरार छन् । मृतकका आफन्त र स्थानियबासीन्दाले घटनाको अनुसन्धानमा प्रश्न उठाउँदै आन्दोलन थालेपछि प्रहरीले पक्राउ पछि रिहा भएको घटनाका विषयमा पुन अनुशन्धान अघि बढाएको थियो । चौतर्फी दवाव झेल्न नसकेपछि ईलाका प्रहरी कार्यालयले गरेको अनुशन्धानका विषयमा छानविन गर्न डिएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिती गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बनाएको छानविन समितीलाई सोमबार प्रतिवेदन बुझाउने गरी समय दिईएको छ ।