काठमाडौं / सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै केक बोक्ने हेलिकप्टरबाट हुम्लामा औषधि पठाइदिन आग्रह गरेकी छिन् ।
शाहीले भनेकी छिन्, ‘तपाईंको र मेरो लेनदेन केही छैन, तपाईं देशको अभिभावक मात्रै नभई मेरो पनि अभिभावक हो । म निरीह सांसद, हुम्ला पनि यो देशभित्रको जिल्ला हो । हुम्ला जिल्लाका बिरामीले एम्बुलेन्स चढ्न सकेका छैनन्, अहिले औषधि खानसमेत पाएका छैनन्, केक बोक्ने हेलिकप्टरबाट औषधि पठाएर यहाँका बिरामीको उद्धार गरिदिन अनुरोध गर्छु ।’
शाहीले हेलिकप्टर चार्टर गर्ने सक्ने हुम्लाका जनताको हैसियत नभएको बताउँदै भनेकी छिन्, ‘बरु केक बोक्ने हेलिकप्टरबाट औषधि हुम्ला पठाइदिनुभयो भने आभारी हुनेछु ।’
हुम्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गए पनि आइसियू र भेन्टिलेटर मात्र होइन, अक्सिजन र औषधिसमेत नभएको शाहीले बताएकी छिन् । उनले भनेकी छिन्, ‘जनता नै नबाँचे धरहरा तपाईं एक्लै टुप्पोमा पुगेर उद्घाटन गरेकोमा इतिहासले सराप्नेछ ।’
सम्माननीय प्रधानमन्त्रीज्यूलाई जनताभन्दा प्यारो धरहरा छ, पानीजहाज छ, सुन्दै छु सिटी भवन उद्घाटनमा ध्यान छ । उद्घाटन गर्ने खर्चले अक्सिजन खरिद गरिदिएको भए जनता बाँच्थे अनि धरहरा चढ्थे होलान् । सांसद खरिद गर्ने पैसाले अक्सिजन खरिद गर्न सकिने भन्दै उनले व्यंग्य पनि गरेकी छिन् ।
सांसद विकास कोषको पैसाले अक्सिजन खरिद गर्न र त्यसले नपुगे सांसदको पारिश्रमिकबाट भए पनि जनता बचाउन लाग्नुपर्नेमा उनले जोड दिएकी छिन् ।




































