काठमाडौँ/ अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता भएको छ । बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग स्विट्जरल्यान्डको राजधानी जेनेभामा भेटवार्ता गरेका हुन्।

वार्ता तीन घण्टासम्म चलेको र आफूहरुले थप समय नचाहेको बताउँदै बाइडेनले रुससँगको सम्बन्ध सुधार्न इमान्दार प्रयत्न भैरहेको समेत बताएका छन् ।

उनले पुटिनसँगको वार्तामा आफूले मतभेदका विषयलाई शान्तपूर्वक प्रस्तुत गरेको र रुसले अमेरिकसँग शीतयुद्ध नचाहेको बताएका छन् । बाइडेनले पुटिनसँग साइबर सुरक्षाका बारेमा कुरा गरेका छन् ।

टेक्सासमा अमेरिकी पेट्रोलियम पाइपलाइनको वितरण प्रणाली र रूसको स्वास्थ्य प्रणालीमा भएको साइबर आक्रमणप्रति इसारा गर्दै पुटिनले दुवै देशका लागि ‘साइबर स्पेस’ असाधारण रूपले महत्त्वपूर्ण भएको बताए ।

रूसमा भएको आक्रमणबारे उनले भने, ‘मलाई लाग्दैन कि अमेरिकी प्रशासन यस कुरामा विशेष रूपले चासो राख्दछ । उ केवल आक्षेप मात्रै लगाइरहेको हुन्छ । हामीलाई विशेषज्ञसँग परामर्श गर्नु आवश्यक छ ।’

त्यसैगरी उनले आर्कटिक क्षेत्रमा रूसी सैन्यीकरणलाई लिएर अमेरिकाले देखाएको चिन्ता पनि निराधार भएको बताए । परमाणु स्थिरताका बारेमा बाइडेनसँगको वार्तामा चर्चा भएको र आगामी दिनमा ‘न्यु स्टार्ट आर्म्स कन्ट्रोल’ सम्झौतामा परिवर्तन गर्ने कुरामा विचार गर्ने पनि पुटिनको भनाइ थियो ।

रूसी राष्ट्रपति पुटिनले बाइडेन डोनाल्ड ट्रम्पभन्दा धेरै फरक भएको बताएका छन् उनी अनुभवी राजनेता भएको र आफूहरुले उस्तै भाषा प्रयोग गरेर बोलेको भन्दै प्रशंसा गरेका छन् । कुराकानीमा उनले दुवै देशले निष्कासन गरेका कूटनीतिज्ञलाई फिर्ता बोलाउने सहमति भएको पनि जानकारी दिएका छन् । सन् २०२० को अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले हस्तक्षेप गरेको भन्दै चलेको आरोप प्रत्यारोपपछि दुबैले राजदूत फिर्ता गरेका थिए ।