बिर्तामोड / लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभागमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न नयाँ पार्टी नेपालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

पार्टीले आज एक विज्ञप्ति जारीगर्दै मतदाता नामावलीमा नागरिकको नाम समावेश गरी मत हाल्न पाउने अधिकार दिलाउन समेत आग्रह गरेको छ ।  

अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउनाका साथै जनप्रतिनिधि, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति  हुन नपाउने गरी तत्काल संविधान संशोधन गर्न पनि माग गरेको छ। 

नयाँ पार्टी नेपालले देशभर बाढीपहिरामा परेका नागरिकलाई तत्काल गाँस, बास र कपासको व्यवस्था गर्न र तिनलाई उचित राहत वितरणमा ध्यान दिन पनि सरकारसँग माग गरेको छ। 

देशमा कोरोनाको प्रभाव विस्तारै कम भए पनि जोखिम कायम भएको हुँदा सम्पूर्ण नागरिकलाई खोप सेवा दिन सरकारको ध्यानाकर्षण गराएका छन्।