ताप्लेजुंग / कोभिड-१९का कारण लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । दुई महिनादेखि नियमित उडान बन्द भएको विमानस्थलमा आज पहिलोपटक जहाज अवतरण भएको हो।

नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट  जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले जानकारी दिएका छन्  निगमले गत सोमबारदेखि नियमित उडान शुरु गरेको थियो।

गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले जानकारी दिएका छन् 

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ। तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौँ रु सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ ।