काठमाण्डौ / प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारको सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने भएका छन्।

कांग्रेस युवा नेता गगन थापाले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन्। आफूहरुले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेको र त्यसलाई देउवाले स्वीकार गरेको थापाको भनाई छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको सरकारी निवासलाई पार्टी कार्यालय जस्तो बनाएको भनेर आलोचना हुने गरेको थियो। ओलीले पार्टीका सबै बैठक र भेलासमेत बालुवाटारमै गर्दै आएका थिए। दुई दिनअघि प्रधानमन्त्री देउवाले पनि बालुवाटारमा पार्टीको बैठक राखेपछि धेरैले देउवाले पनि ओलीकै क्रियाकलापलाई निरन्तरता दिन थालेको भन्दै आलोचना गरेका थिए।