बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सील गरिने भएको छ ।

भोलि मंगलबार देखि १२ गते सम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सील गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताएका छन् ।

कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सील गरिएको बताउँदै प्रमुख भुजेलले सबैलाई अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

निर्देशन पालना नगर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही गरिने गाउँपालिका प्रमुख भुजेलले बताएका छन् । बुद्धशान्तिमा पछिल्लो दुई दिनमा मात्र १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबारसमेत यो समाचार तयार पार्दासम्म थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भुजेलले जानकारी दिएका छन् ।