तुलसीपुर / लुम्बिनी ग्रामीण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा गत आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताउँछन् ।

हामीले रोजगारी सिर्जना गर्न शुरुमा तालीम प्रदान गर्छौं”, उनि भन्छन् तालीमपश्चात् हामीले आवश्यक सामग्री पनि प्रदान गर्छौं ।यसरी सामग्री प्रदान गर्दा व्यावसायिकरुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालीममा सहभागीको भनाइ छ ।

हामीले सीप मात्रै सिकेनौँ, सीप सिकेपछि सामग्री पनि पायौँ”, तुलसीपुर१२ निवासी नेत्राकुमारी ओली भन्छन्, “अहिले हामीलाई काम गर्न निकै सजिलो भएको छ ।उनले च्याउखेती तालीम पाएका थिए । त्यस्तै च्याउ खेती तालीम लिएकी लक्ष्मी घर्तीले सामग्री पाएपछि खुशी भएको बताउछिन् । उनलाई पराल काट्ने मेसिनदेखि लिएर च्याउका लागि आवश्यकपर्ने सामग्री प्रदान गरिएको हो ।

तुलसीपुर१६ का युवा खगेन्द्र डाँगीले कलमी बिरुवा उत्पादन गर्ने तालीम लिने अवसर प्रदान गरेका हुन् । त्यो तालीममा व्यावहारिकभन्दा पनि बढी सैद्धान्तिक ज्ञान प्रदान गरिएकाले कृषिखेतीमा थप उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । अब कृषिखेतीमा युवा सक्रिय हुनुपर्छ, यसरी हामीले ठूलो क्षेत्रफलमा लगाएको कागती खेती देख्दा निकै खुशी भएका छौँ, अझ हामीले यही आएर कागतीका बेर्ना उत्पादन गर्न सिक्यौँ”, उनि भन्छन्, “यसले हामीलाई हौसला प्रदान गरेको छ ।

त्यस्तै अर्का युवा झक्कुप्रसाद जैसी पनि निकै खुशी देखिनु हुन्छ । कागती उत्पादनको ठूलो क्षेत्रमा आएर कलमी बिरुवा उत्पादन गर्न पाउँदा खुशी भएको उनको भनाई छ । तुलसीपुर१३ मा कुटानी पिसानीको मिल थिएन । त्यहाँका नागरिकलाई रोजगारी पनि हुने र कुटानी पिसानीका लागि पनि सहज होस्, भनि कुटानी पिसानी मिल उपलब्ध गराइएको छ । यसले आफूहरुलाई स्वरोजगार बनाएको स्थानीयवासी गोविन्द नेपाली बताउँछन् ।

यति मात्रै होइन, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले मोटरसाइकल मर्मत तालीम प्रदान गरेर मर्मतका लागि आवश्यक सामग्री प्रदान गरेको थियो । त्यस्तै कपाल काट्ने तालीम, पलम्बिङ, दूधका परिकार बनाउने, टनेल निर्माण तालीम, बाँसका सामग्री बनाउने तालीम, व्युटीपार्लर तालीम, चप्पल निर्माणलगायतका जीवन उपयोगी तालीम प्रदान गरिएको थियो ।

सामाजिक, आर्थिक तथा शैक्षिकरुपमा पछि परेका वर्गलाई रोजगारमा जोड्नका लागि यस्तो खालका कार्यक्रम सञ्चालन गरिएको विज्ञ सदस्य शर्मा बताउँछन्। साथै शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त तालीम प्रदान गरिएको हो ।

उनले सीप सिकेर मात्रै नहुने भएकाले व्यावहारिक प्रयोग आवश्यक रहने हुँदा तालीमपश्चात् यसरी सामग्री वितरण गर्दा सीपको सदुपयोग हुने बताउँछन् । अहिले धेरैको सीप सिक्ने तर, व्यवहारमा नउतार्ने समस्या देखिएको छ”, उनि भन्छन्, “यसरी सीप प्रदानपछि सामग्री वितरण गर्दा उहाँहरुले आफैँ पनि सीपलाई प्रयोग गर्नुहुन्छ, यसले सकारात्मक प्रभाव पार्छ ।