काठमाडौँ / विद्युतीय ऊर्जामा गरीब तथा विपन्न र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न सरोकार विज्ञले माग गरेका छन् ।

नेपाल इनर्जी फाउन्डेशनले ऊर्जामा गरीबको पहुँच अभिवृद्धिविषयमा आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताले आधारभूत ऊर्जाको पहुँचको सुनिश्चितताले मात्रै आर्थिक, सामाजिक समृद्धिको ढोका खुल्ने बताएका छन् । साथै उनीहरुले गरीबको सही पहिचान हुन नसक्दा ऊर्जामा न्यायको पहुँच सुनिश्चिततामा कठिनाइ उत्पन्न भएको धारणा राखेका छन् ।

फाउन्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले गरीब तथा विपन्न समुदायलाई सहुलियतपूर्ण वा निःशुल्क ऊर्जाको सुनिश्चितता गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । उनले आर्थिक, सामाजिक र भौतिक रुपमा ऊर्जाको पहुँच कसरी पुर्याउने भन्ने चिन्ताको विषय हो भन्दै वास्तविक गरीब तथा विपन्न वर्गलाई ऊर्जाको पहुँच अभिवृद्धि गरिनुपर्ने धारणा राखेका छन् ।

आर्थिक सर्वेक्षण २०७७/७८ का अनुसार नेपालमा राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जाबाट विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या ९३ र सङ्ख्या सात प्रतिशत रहेको छ । दिगो विकास लक्ष्यअनुरुप सन् २०३० मा विद्युत्मा पहुँच भएको जनसङ्ख्या अनुपात ९९ प्रतिशत रहने जनाइएको छ । मुलुकमा करीब १८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको बताइएको छ।

ऊर्जा विषयका जानकार स्वस्ति अर्यालले नेपालको ऊर्जा अवस्थाबारे प्रस्तुतीकरण गर्दै दिगो ऊर्जाका लागि आर्थिक, सामाजिक न्यायमा पहुँचको सुनिश्चितता हुनुपर्ने बताएका छन् । उनले अहिले पनि मुलुकमा ६८ प्रतिशतभन्दा बढी घरधुरीले परम्परागत ऊर्जाको खपत गरिरहेको सन्दर्भमा गरीब र विपन्न समुदायलाई कसरी ऊर्जाको पहुँचमा ल्याउने भन्ने चिन्ताको विषय भएको बताएका छन् ।