सिन्धुली / राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी छन् ।

सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उनले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने व्यक्त गरेकी छन् ।

उनले पर्यटनका माध्यमबाट सानो अर्थतन्त्र चलायमान हुने र उत्पादकत्व वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति घट्न सक्ने बताउँदै यस्ता गतिविधिले मुलुकमा चुलिएको व्यापारघाटा कम गर्न मद्दत पुग्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न टेवा पुग्ने विचार व्यक्त गरेका छन् ।

सिन्धुलीगढीलाई विश्वसामु चिनाउन भइरहेका प्रयासबाट सम्पूर्ण नेपाली गौरवान्वित भएका तथा युद्ध सङ्ग्रहालयको निर्माणले ऐतिहासिक सम्पदाको संरक्षण हुनाका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।