मिक्लाजुङ / बजेट अभाव र उपभोक्ता समिति भित्रको विवादका कारण मोरङको मिक्लाजुङ गाउँपालिका – ५ धानखेती स्थित सोल्टी खोलाको पुल साढे तीन वर्षदेखि अलपत्र परेको छ ।
उपभोक्ता समिति गठन भएर १ करोड ८३ लाख रुपैयाँको लागतमा निर्माणको इस्टमेट तयार गरेर सुरु गरिएको पुल अलपत्र परेको हो।
निर्माण हुने भनिएको पक्की पुल नबन्दा अहिले अस्थायी काठको पुल निर्माण गरि आवतजावत गर्न थालेको मिक्लाजुङ - ५ धानखेतीकी भिमकुमारी लिम्बुले जानकारी दिएकी छन् । मधुमल्ला, कत्ले र उर्लाबारी लगायतका बजार जान पुल नबनेकै कारण सडक भए पनि जोखिम मोलेर बर्खायाममा नदी तर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । पुल बनाउन उपभोक्ता समिति र स्थानीय तहलाई भन्दै आएपनि कुनै चासो नदिएको उनको गुनासो छ ।
वर्षौँसम्म पक्की पुल नबन्दा बर्खा सुरु भएपछि सोल्टी खोलामा स्थानीयले काठको अस्थायी रूपमा पुल बनाएका थिए। स्थानीयको दैनिक उपभोग्य सामाग्रीदेखि स्वास्थ्य र शिक्षाको लागि सोल्टी खोला तर्दै उर्लाबारी धाउनुपर्ने बाध्यता रहेको छ ।
मोरङको उत्तरी बजार लेटाङ हुँदै जाँते र मधुमल्ला बजार जोड्ने सोल्टी खोलाको पुल उपभोक्ता समिति गठन गरेर २०७५ भदौ ५ गतेदेखि निर्माण सुरु भएको थियो ।




































