सप्तरी  / सप्तरीमा ट्याङ्करले ठक्कर दिँदा बाराकी एक जना वृद्धाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका –६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिँदा बाराको कोतबाल गाउँपालिका –३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

गिरी सुनसरीको चतराबाट दर्शन गरी ना४ख २८०० नम्बरको बसमा फर्किरहेको बेला कठौनामा शनिबार राति ८ बजे खाजा खान रोकिएको थियो । बस रोकिएपछि ओर्लेर बाटो काट्ने क्रममा ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चालकलाई ट्याङ्करसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।