बिर्तामोड / झापामा रहेका २६ जना दृष्टिविहीन विद्यार्थी इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट वञ्चित भएका छन् ।

संवाद समूहले विर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले २६ जना दृष्टिविहीन विद्यार्थी अनलाइन शिक्षाबाट वञ्चित भएको, खाद्यान्न, सेतो छडी, ह्वील चियर, श्रवणयन्त्र, लत्ताकपडा, जुत्तालगायतको अभाव रहेको बताएका छन् ।

जिल्लामा हालसम्म तीन जना दृष्टिविहीन कोभिड१९ बाट सङ्क्रमित भइसकेको र अपाङ्गता भएकाहरुले मनोसामाजिक परामर्श नपाएको नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले जानकारी दिएका छन् ।

सडकपेटीमा गीत सुनाएर जीवन निर्वाह गर्दै आएका दृष्टिविहीन र अपाङ्गता भएकाले उत्पादन गरेको फिनेल, हार्पिक, अगरबत्ती, कुचोजस्ता घरायसी सामग्री निषेधाज्ञाका कारण बिक्री गर्न नपाउँदा हाल भोकभोकै रहनुपर्ने अवस्था आएको कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सिर्जना बराल बताउछिन् ।