पर्सा / जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचविखनमा संलग्न दुई जनालाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्पारण –११ बस्ने २५ वर्षीय विकेश कुमार र धनुष जिल्ल लगराइन घर भएकी २५ वर्षीया अजिमा खातुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुलाई गोप्य सूचना र सुराकीकोे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
विभिन्न जिल्ला र ठाउँबाट ७ जना युवतीहरूलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो – ११ आदापुर बजार भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भएपछि उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको जिप्रका पर्साले जनाएको छ।
सो कार्यालयबाट मिति भदौ ९ गते खटिएको टोलीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपालका सामाजिक संस्थासँगको सहकार्यमा सोही स्थानबाट उनीहरूले बिक्री गर्न लागेका ७ जना महिलालाई समेत उद्धार गरेका हुन्।
प्रहरीलाई उद्धार गरिएका युवतिहरूले बताए अनुसार निजहरूलाई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वास र झुक्यानमा पारी भारतको छौँडादानो भन्ने स्थानमा लगी मोबाइल फोन खोसी एउटा अँध्यारो कोठामा नियन्त्रणमा राखिएको थियो।
उनीहरूलाई भारतकै विभिन्न स्थानमा पठाई रकम लिई निजहरूको इच्छाबिपरीत अशोभनीय पोसाकमा बिना पारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रम शोषण समेत गरिएको थियो।
त्यसपछि उनीहरूलाई बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको समेत खुल्न आएको प्रहरीले बताएको छ।




































