काठमाडौँ / नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए ।
साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्नु सङ्क्रमण घट्नुको अर्को कारण भएको उनले बताए।
शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय सङ्क्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रूपन्देही रहेका छन् ।
यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेसन, एक हजार १७२ जना संस्थागत आइसोलेसन र २३६ जना क्वारेन्टाइनमा रहेका छन् ।






































