बुटवल //रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। जग्गा कब्जा गरी बसे

का र प्रहरीहरुबीचको झडपमा घाइते भएकामध्ये ४ जनाले ज्यान गुमाएका हुन्।

मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको र तीनको सनाखत हुन नसकेको शिक्षण अस्पताल युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी गराएका छन्।

मृत्यु हुनेहरुमा  भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारण रहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ।

मृतक करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का  रमेश परियारको सनाखत भैसकेको छ ।

झडपमा परी कम्तीमा ४९ जना घाइते भएका छन्।घाइतेमध्ये १५ सर्वसाधारण र २१ प्रहरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । ५ सर्वसाधारण र ८ प्रहरीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरेर बसेका स्थानीयको अस्थायीरूपमा बनाइएका टहराहरूसमेत प्रहरीले भत्काएको छ ।

उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो।

उक्त औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो।

तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए ।

करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।