मोरङ // उर्लाबारीका अन्जित थापा सहित ७ जना करिब ८ किलो चरेससहित पक्राउ परेका छन्।
नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गरेको आरोपमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित सहित ७ जना पक्राउ परेका हुन्।
सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका- ५ का ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका -५ का ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी गाउँपालिका -१ का दिनदयाल महतोलाई प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरी दिपेन्द्र महतो उराव, मकवानपुर थाहा नगरपालिका ११ बस्ने ४५ वर्षीय रबि मोक्तान र धादिङ थाक्रे गाउँपालिका ३ बस्ने २३ वर्षीय मोतीलाल तामाङ समेतलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरुको साथबाट प्रहरीले ७ केजी ९ सय ७७ ग्राम अवैध लागुऔषध चरेस बरामद गरेको छ।
यही असोज १४ गते ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले चरेश सहित अन्जित थापालाई पक्राउ गरेको थियो।
उनको साथबाट ९ थान थाङ्का र त्यसमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेस बरामद भएको थियो। प्रारम्भिक अनुसन्धानपछि सोही दिन उक्त सामान दिने सुजनलाई पक्राउ गरेको थियो। लगतै सुजनलाई चरेस दिने जालिन्द्रलाई समेत पक्राउ गरेको प्रहरीले बताएको छ।
जालिन्द्रको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टिभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेस र २ डब्बा फेबिकोल, २ थान फलामको हेक्सा ब्लेड, २ थान छिनो, १ थान चक्कु, २ थान हतौडा, १ थान धार लगाउने सिल्ली, २ थान फलामको ढुङ्ग्रो, ४ रोल -यापिङ टेप बरामद भएको ललितपुर प्रहरीले जानकारी गराएको छ।
असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको १ सय १३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८ सय ७५ ग्राम चरेस, ३ थान डिजिटल तराजु, १ थान सिलाई मेशिन, १ थान रोलिङ मेशिन, २ थान फेबिकोल, विभिन्न १७ थान हस्तकला, ६ थान थाङ्का लगायतका सामान र नगद १ लाख रुपैयाँ सहित दिनदयाल र दिपेन्द्र महतोलाई पक्राउ गरिएको ललितपुर परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी गराएकी छन्।
त्यहि दिन जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई उनकै कोठाबाट ९ ग्राम ५ सय मिलिग्राम लागुऔषध चरेससहित पक्राउ गरेको थियो।
असोज १६ गते रविलाई चरेस उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको छ। उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेस संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरूमा चरेस लुकाई कार्गोबाट हङकङ पठाउने गरेको पाइएको प्रहरीले जानकारी गराएको छ।






































