धनगढी / आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो ।
सोमबार राति गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।
पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।
अहिले गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेकाले अझै राजमार्ग खुल्न केही समय लाग्ने प्रहरी उपरीक्षक गौतमले बताए ।





































