झापा //अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक झापालीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा सुरूंगा कनकाई नगरपालिका-३ घर भई काठमाडौंको चाबहिलमा बस्ने ३५ वर्षीय निलम भट्टराई रहेका छन्।
भट्टराईले राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको उनीमाथि आरोप छ।
उनले तनहुँ शुक्लागण्डकी नगरपालिका - ३ बस्ने ३० वर्षीया पीडितलाई आफू चलचित्र क्षेत्र, राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भनेर चिनाएका थिए।
त्यसकारण आफ्नो पहुँच गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्ने आश्वासन दिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी गराएका छन्।
उक्त पदमा जागिर खान मन्त्रालयका अधिकारीहरूलाई रकम बुझाउनुपर्ने भन्दै १५ लाख मागेको आरोप छ। त्यसरी प्रलोभनमा पारेपछि भट्टराईले उनीबाट १४ लाख ५० हजार रुपैयाँ लिएको कुरा अनुसन्धानका क्रममा खुलेको उपरीक्षक कोइरालाले जानकारी गराएका छन्।
रकम लिइसकेपछि जागिर पक्का भयो अब ४५ दिने तालिमको लागि सिन्धुली जानुपर्छ भनी पीडितलाई काठमाडौं बोलाएको ,तर काठमाडौं पुग्दा भट्टराई सम्पर्कविहीन भएको पीडितले बताएका छन्।
आफू ठगिएको थाहा पाएपछि उनले महाशाखामा जाहेरी दिएका थिए।
जाहेरीपछि महानगरीय अपराध महाशाखाले भट्टराईलाई सुर्खेतबाट मंगलबार पक्राउ गरि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ।





































