सप्तरी  / सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका –२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर३८आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।

बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बलुवा –३ निवासी २२ वर्षीय राजुकुमार तिवारीलाई उपचारका लागि विराराटनगर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मोटरसाइकलमा सवार नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ३१ वर्षीय पुरुषको पनि उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको काफ्लेले बताए ।

बसको ठक्करले पैदल यात्री कंचनरुप नगरपालिका १ बरमझिया बस्ने १९ वर्षीय रोहन प्रसाद गुप्ता घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।