कैलाली \ कैलालीको लम्कीचुहा नगरपालिका – १ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा –३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा –१ का २२ वर्षीय कपिल श्रेष्ठ तथा १८ वर्षीय किशोर, टीकापुर नगरपालिका –१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन् । 

बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले हिजो दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजाम गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभर सम्म शव टीकापुर अस्पतालमै रहेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिअनुसार हिजो साँझ आफन्तले शव बुझेर अन्तिम संस्कार गरेको प्रहरीले जनाएको छ । उनले अझै पनि घटनामा संलग्न केही फरार रहेको जनाउँदै उनीहरूको खोजीकार्य भइरहेको बताएका छन् ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले सुप प्र०१००८ प ५५६५ नम्बरको स्कुटर र सुप प्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।