काठमाडौँ / गत कात्तिक ५ गते गरिएको नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको महाधिवेशनको परिणामलाई बहिष्कार गरेका तीन उम्मेदवारहरूले श्रम तथा रोजगार कार्यलयका उजुरी दिएका छन् । 

संघका पदाधिकारीहरूले विधानलाई प्रक्रियागत रुपमा संशोधन नगरी आफू अनुकूलको व्याख्या गरेको भन्दै उनीहरूले श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका हुन् । 

उजुरी दिनेमा उम्मेदवारहरू इन्द्र न्यौपाने, गंगा भण्डारी, महेश्वर दत्त पनेरु रहेका छन् । उनीहरूले संघको कथित केन्द्रीय समिति विघटन गरी नयाँ कार्य समिति निर्माण गर्न माग गरेका छन् ।

विधानको दफा २७ मा विधानको संशोधन प्रस्ताव महाधिवेशन र केन्द्रीय परिषद् भेलाको दुई तिहाई बहुमतले पारिन गर्न सक्नेछ प्रावधान निवेदनमा जिकिर गरिएको छ । 

ट्रेड युनियन ऐन विपरीत आफू अनुकूल संगठनात्मक संरचना, निर्वाचन प्रणालीसमेत बनाई सञ्चालन गरिदै आएको दावी गरिएको छ । 

‘संघको विधानमा कुनै पनि प्रक्रिया पुरा नगरी संसोधन गरी कार्यान्वयन गर्ने कुरा सो ऐनको प्रस्तावना विपरित हो,’ निवेदनमा उल्लेख छ, ‘त्यसकारण त्यस कार्यालयलाई भएको अधिकार प्रयोग गरी उक्त अवैध अधिवेशन बदर गरी संघको नयाँ तदर्थ समिति निर्माण गर्न प्रमाणसहित पेश गरेका छौं ।’