झापा / जिल्ला अदालत झापाले बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाले दुरुत्साहनका कारण आत्महत्या गरेको ठहर गरेको छ । 

निरौलाको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका हेटौंडा उपमहानगर –५ घर भई झापाको अर्जुनधारा –५ बस्ने नारायण खड्काले नै उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अदालतले ठहर गरेको जिल्ला अदालत झापाका शाखा अधिकृत नवराज पोखरेलले जानकारी दिए । 

२०७७ चैत २० गते घरबाट हिँडेका होटल सञ्चालक निरौलाको शव चैत २२ गते मेचीनगर –१३ स्थित चारआली जङ्गलमा फेला परेको थियो । 

निरौलाको शव बरामद भएको ठाउँबाट प्रहरीले कीटनाशक औषधिको बोतल र दुई पेजमा लेखिएको चिट फेलापारेको थियो । चिटमा १२ जनाभन्दा वढी व्यक्तिको नाम र उनीहरूका कारण मृत्यु रोजेको लेखिएको थियो । 

तर जिल्ला प्रहरी कार्यालय झापाले निरौलाको हत्याको आरोपमा खड्का र सिन्धुपाल्चोक घर भई हाल अर्जुनधारा –५ बस्ने भरत दङ्गाललाई पुर्पक्षका लागि थुनामा राखेको थियो । 

जिल्ला अदालतले दंगाललाई सफाइ दिएको छ । अदालतले खड्कालाई कति सजाय हुन्छ भन्ने मंसिर २९ गते मात्र फैसला गर्ने छ । कसुर ठहरिएका खड्का भने निरौलाका नातामा भान्जा भएको खुलेको छ ।