झापा / सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर १५ बस्ने २० वर्षीय कुन्थाङ मोक्तान छन् ।
त्यस्तै, सोही ठाउँका चालक ३३ वर्षीय आइत सिंह र २१ वर्षीय मनिष परियार घाइते छन् ।
प्रहरी नायब उपरीक्षक लामाका अनुसार घाइतेको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मनिष परियारको अवस्था गम्भीर छ ।
काठमाडौं आउँदै गरेको जिपमा करिब २०० वटा कुखुरा थियो । ती कुखुरा पनि सबै मरेको प्रहरी नायब उपरीक्षक लामाले बताए ।
‘प्रारम्भिक अनुसन्धानबाट चालक निदाउँदा दुर्घटना भएको हो कि भन्ने आशंका छ । चालकसँग कुराकानी हुन सकेको भने छैन,’ उनले भने, ‘जीप आफ्नो लेन छाडेर अर्को लेनबाट तल झरेको हुँदा पनि निदाएको हो कि भन्ने आशंका भएको हो ।’
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।






































