झापा / जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक गौश्वारा गाविस –७ र हाल दोरम्बा सैलुङ गाउँपालिका –४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए ।
निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुर बाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ ।






































