काठमाडौँ / नेकपा एमालेले जिल्ला अधिवेशनबाट आइतबार बिहान सम्ममा २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

 एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रेपलाञ्चोक, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा रसुवा र नवलपरासी (पश्चिम)मा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

एमाले जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनेमा झापाबाट दीपक कार्की, पाल्पाबाट धनेन्द्रराज घिमिरे, दाङबाट हुकुम बहादुर बस्नेत, डोल्पाबाट शेरबहादुर बुढा, सल्यानबाट गोविन्द पुन, बर्दियाबाट लालबहादुर श्रेष्ठ, बाँकेबाट किस्मत कुमार कक्षपति, धादिङबाट भूमि त्रिपाठी र अर्घाखाँचीबाट पीताम्बर भुसाल रहेका छन् । 

त्यस्तै मोरङबाट ऋषिकेश पोखरेल, काभ्रेबाट अशोक ब्याञ्जु, भक्तपुरबाट बचन देउजा, गुल्मीबाट बालसिंह काउछा, खोटाङबाट रामप्रसाद दंगाल, सप्तरीबाट ताराकान्त चौधरी, तनहुँबाट श्री प्रसाद श्रेष्ठ,  धनकुटाबाट इन्द्रमणि पराजुली, रसुवाबाट कर्णेल लामा, नवलपरासी (पश्चिम)बाट दीपेन्द्र अधिकारी र
कपिलवस्तुबाट डम्बर शर्मा एमालेको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

कपिलवस्तुमा भने मतदानमार्फत नेतृत्व चयन भएको छ । सहमति हुन नसकेका अधिकांश जिल्लामा आज मतदान हुँदैछ । 

दुई विशेष जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन भएको रिजालले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते ६३ जिल्लाको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गरेका थिए । 

अधिवेशन उद्घाटन भएका जिल्लाको जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया जारी रहेको एमालेले जनाएको छ ।