झापा / कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ ।
आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका –३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका –१० सुर्खेतस्थित बुद्बुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
वि सं २०५८ साउन २८ गते आफ्नै श्रीमतीको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सिंहलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि २०५८ भदौ १४ गते कारागार चलान गरेको थियो । प्रहरीका अनुसार उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार रहेका थिए ।
वि सं २०६५ मङ्सिर १३ गते अदालतले अन्तिम फैसला गर्दै सिंहलाई २० वर्षको कैद सजाय तोकेको थियो। पक्राउ गरिएका सिंहलाई अदालतमा पेश गरेर कैद भुक्तानका लागि आजै सुर्खेत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।






































