झापा / पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जनाएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो ।

पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ । ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलेजस्तो सुख्खा हुनेगरी सतह घट्दैन । ‘२० सेन्टिमिटर जति बाँध खोल्छौं । यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उनले भने, ‘कल्भर्टको काम सकिनेवित्तिकै बाँध बन्द हुन्छ । पहिले जस्तो धेरै सतह अहिले घट्दैन ।’
ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फास्ट ट्रयाकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ ।