झापा / तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं  ५ न्युरोडका ३३ वर्षीय भुपलाल बिक र तुलसीपुर १८ हेमन्तपुरका २६ वर्षीय देवराज देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । 

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार बेलुका ५ बजेतिर पुगेको प्रहरी टोलीले विकलाई उनकै घरबाट पक्राउ गरिएको थियो ।

विकको साथबाट १७ वटा पुरिया फेला परेको र प्लास्टिक हटाएर तौल गर्दा पाँच सय मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी अर्यालले बताए। त्यसपछि विकको सूचनाका आधारमा देवकोटालाई पनि आइतबार बेलुका ७ बजेतिर उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको डीएसपी अर्यालले जानकारी दिए ।


देवकोटाले लगाएको ज्याकेटबाट १५ पुरिया र कोठाको दराजभित्र लुकाइराखेको अवस्थामा प्लास्टिक फालेर तौल गर्दा ३ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी अर्यालले जानकारी दिए । 

पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।