काठमाडौँ / ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ परेका छन् । चेक बाउन्स भएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

व्यवसायी सञ्जय अधिकारी र टंक शम्शेर जबराको चेक बाउन्स भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । अधिकारीको ५० लाख रुपियाँको र जबराको डेढ करोड रुपियाँको चेक नसाटिएपछि उनीहरूले उजुरी गरेको प्रहरीको भनाई छ । एभरेष्ट, मेगा, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट बैंकबाट उनले ८० करोड बढी ऋण लिएका छन् । आयात गरेको मदिरा बिक्री गरेर पनि पैसा तिर्न छाडेपछि बैंकले उनको पसल सिल गरेका थिए ।

पक्राउ परेका अग्रवाललाई हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको बताइएको छ ।