वीरगञ्ज / शस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ ।       

आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । 

उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए।   

“मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।” 

सो गण अन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, १७ सीमा सुरक्षा पोष्ट (बिओपी) र तीनवटा सीमा निगरानी पोष्ट (एफओवी) रहेका छन् ।     

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ ।