बिर्तामोड / मोरङको लेटाङ घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६३ जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा ६३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार पक्राउ परेका मध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप भएको र बाँकी ४३ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
घटनाको सम्पूर्ण अनुसन्धान सात दिनभित्र सकिने प्रहरीले जनाएको छ ।
मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा सातमा अध्ययनरत छात्रालाई होलिका दिन यौनजन्य दुर्व्यवहार गरेको भन्दै गत चैत छ गते विद्यार्थी र स्थानीयले विद्यालयमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा स्थानीयले ढुंगामुढा गर्न थालेपछि विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । सो भिडलाई नियन्त्रण गर्नका लागि खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको छुरा प्रहारबाट मृत्यु भएको थियो ।




































