विराटनगर / विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्याको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई घरभई हाल विराटनगर बस्ने जीवन कठेत र सुदीप पौडेलसहित आठ जना रहेका छन् । 

पक्राउ परेका आठ जना विरुद्ध प्रहरीले  ‘अभद्र व्यवहारको मुद्दामा’ तीन दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको बताइएको छ । 

सप्तहरीको विष्णुपुर गाउँपालिका –१ घर भई हाल बिराटनगरमा बस्दै आएका डा. यादवको चैत १९ गते (शनिबार) बिहान डेरा बसेको घरको कम्पाउण्डमा मृत फेला परेका थिए । 

मृतकको पोस्मार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धानको लागि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ जानकारी दिए । 

श्रेष्ठका अनुसार पक्राउ परेका कुठेतको यादवसँग ७ महिना अगाडि झगडा परेको थियो । पक्राउ पर्ने अरु भने यादवका साथीहरू रहका छन् । उनीहरूले यादवसँग एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको पाइएकाले उनीहरूलाई पनि नियन्त्रणमा लिएको श्रेष्ठले बताए । 

होटलमा बसेर खानपिन गरेको र आफूहरू तीनै जना एउटै स्कुटर चढेर ११ बजे राति विजयलाई उनको डेरा नजिक पुर्‍याएर फर्केको प्रहरी नियन्त्रणमा रहेकाले बताएका छन् ।

डा. यादव नोबेल अस्पताल अगाडिको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । स्थानीयले बिहान यादवको मृत शरीर घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।